काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा युवा ब्याट्सम्यान कुशल भुर्तेलकाे टी२० ब्याटिङ वरीयता खस्किएकाे छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार जारी गरेको वरीयतामा कुशल दुई स्थान तल झरेका छन्। नयाँ वरीयतामा उनी ६१औं स्थानमा छन्। कुशलको ४ सय ४२ रेटिङ प्वाइन्ट छ।
यता, कप्तान ज्ञानेन्द्र मल्ल एक स्थान सुधार गर्दै ९५ औं स्थानमा उक्लिएका छन्। ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ७५ छ।
यस्तै, पूर्वकप्तान पारस खड्का ९१ औं स्थानमा यथावत छन्। उनकाे ३ सय ६२ रेटिङ प्वाइन्ट छ।
ब्याटिङतर्फ इंग्ल्यान्डका डेविड मलान शीर्ष स्थानमा यथावत् छन्। यस्तै, बाबर आजम दोेस्रो स्थानमा छन्।
अष्ट्रेलिया कप्तान अरोन फिन्च तेस्रो, न्युजिल्यान्डका डेभन कन्वे चौथो र भारतीय कप्तान विराट कोहली पाँचौं स्थानमा छन्। पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले चारस्थान फड्को मार्दै ७औं स्थानमा उक्लिएका छन्।
बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने ४ सय ५ रेटिङका साथ ७८औं स्थानमा यथावत छन्।
बलिङतर्फ दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी पहिलाे स्थानमा छन्। यस्तै, अफगानिस्तानका राशिद खान दोस्रो, श्रीलंका वानिन्दु डि सिल्भा तेस्रो र इंग्ल्यान्डका आदिल राशिद चौथो स्थानमा छन्।
नेपाल टिम वरीयतातर्फ नेपाल टी२० मा १३औं र ओडिआईमा १६ औं स्थानमा यथावत् छ।
नेपालले पछिल्लोपटक टियु मैदानमा गत वैशाखमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी२० आई सिरिज खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।