मिलिसिया, रामदल र क्रान्तिबाट आएर
जम्मा भएकाहरुबाट बनेको
नेपाल प्रहरी हुँ म।
प्रजातन्त्रको आन्दोलनका बेला
कालिमाटीमा कुटीकुटी मारेर
ठेलगाडामा घुमाएको
नेपाल प्रहरी हुँ म।
घण्टौं खाना, पानी नखाई
दुई गोडाले गु-मुत च्यापेर डिउटी गर्दा
'काम गरिनस्' भनेर गाली खाने
नेपाल प्रहरी हुँ म।
आमाबाबु नभएको टुहुरो बबुरो जस्तै
कसैले मेरो व्यथा नसुनी
थिचोमिचोमा पर्ने
नेपाल प्रहरी हुँ म।
लठ्ठी र अरुले मिल्काएको
थोत्रा जडौरी हतियार बोकेर
कथित जनयुद्धमा ज्यान फाल्ने
नेपाल प्रहरी हुँ म।
आफ्ना विरोधी तह लगाई
चुनाव जिताइदिन्छ भन्ने
भ्रम पाल्नेहरुलाई बुझाउन नसक्ने
नेपाल प्रहरी हुँ म।
आफ्नो व्यथा सुनाउन खोजे पनि
कसलाई सुनाउने ?
कसैले सुनिदिएन भनेर गनगन गर्ने
नेपाल प्रहरी हुँ म।
लठ्ठीका भरमा अनुसन्धान गर्ने
तर, ‘अमेरिका, बेलायतमा त हुन्छ,
याहाँ किन हुन्न?’ भन्ने सुनिरहने
नेपाल प्रहरी हुँ म।
पुर्वदेखि पश्चिमसम्मका
रंगीबिरंगी चरित्र बोकेका
हाकिमका अनुभव बटुलेको
नेपाल प्रहरी हुँ म।
पढेलेखेका जमात बोकेको
तर, कसैलाई बुझाउन नसकेको
नेपाल प्रहरी हुँ म।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।